यसपालि को दशैँ



कस्तो धपक्क बलेको आमाको अनुहार ,
पूर्णिमाको जून के हो र त्यो तेजको अगाडि
छुट्टै चमक थियो आँखामा अनि,
फुर्तिलै थियो गोडाका बेग पनि।

"छोरि आउँदै छे रे", दशैँमा टिका थाप्न भनि,
खुशिले फुरुङ्ग हुँदै सुनाउदै थिईन छिमेकमा पनि
उत्साहित भई मनमा  गाँठो परेको  पोको खोल्दै
आमा, छोरिको पर्खाईमा हर्षका आँशु बहाँउदै।

छतको डिलमा बाबा आकाशमा उडेको जहाज नियाल्दै ,
"भोलि त घर आइपुग्छे होलि", भनि मुस्कुराउदै
दिदिले ल्याउने कोसेली खोल्न कम्मर कसेकी बहिनी,
बिहानै देखि घरको संघारमा दिदिलाई पर्खदै होलि।

घर भन्दा टाढा, सात समुद्र पारि ,
घर तिर दशैँ  आएको सुन्छु म चाहिँ
घरको आँगनसम्म पुगेको सपना देख्छु घरि घरि
अनि झसङ्ग भई बिरानो मुलुकमा पाउँछु आफैंलाई ।

दुई वर्ष हुने भयो निधार रित्तिएको मेरो ,
कानले जमरा र शिरले आशिर्वाद नपाएको 
यसपालिको दशैँ  पनि आउँछ जान्छ,
अर्को वर्ष त घर मै टिका थपिन्छ।


बाबा र आमासँग २०११ को दशैँ 




(दशैँ आयो फेरि, आएर जान्छ पनि। चाड पर्वको बेला हो घरको धेरै याद आउने पनि )





Comments

Popular Posts