घरको माया

सानो छदां " घरको माया" शिर्षक को कथा पढेकी थिए, आज सायद त्यहि कुरो जीवनमा भोगीरहेकी छु।  होइन, घर को याद पक्कै आएको छैन मलाई, मलाई देश को याद आउछ।  नेपालमा हुँदा सायद यस्तो हुदैन थियो तर अहिले विदेशमा हुँदा विभिन्न संचार माध्यमबाट आउने समाचार हेर्दा र सुन्दा मनमा पिरो भएर आउछ।
गाडीमा इन्धन छैन रे , पकाउने ग्यास छैन रे, जता त्यतै कालो बजारी छ रे, एक सिलिन्डर ग्यास आज सुनको भाउ भएको छ रे। नेपाली नेपाली एक आपसमा लडिरहेका छन् रे।  कसैले आफ्नो अधिकार पाएनन् रे, कसैले आफ्नो लागि राज्य।

 यहाँ कोहि नेपाली भेट्दा आफ्नै मान्छे भेटिएको जस्तो लाग्छ। मन फुकाएर गफ गर्न मन लाग्छ, तर देश को स्थिति सुन्दा नरमाइलो लाग्छ।

हिजो आमाले स्कूलबाट फर्किदा हिड्दै आउनु पर्यो रे, आज बहिनि ले गाडी मा बस्ने त के उभिने ठाउँ न पाएर गाडीको ढोका मा झुञडीदै यात्रा गर्नु पर्यो रे, भाइ पनि बसको छतमा यात्रा गर्छ रे, बाबा सधै हिड्दै पसल जानु पर्छ रे। म पनि नेपालमा भएको भए मेरो स्थिति पनि येस्तै केहि हुन्थ्यो होला तर म यहाँ बसेर समाचार सुनेर, ब्लग लेख्न बाहेक केहि गर्न सक्दिन।  म पनि नेपालमा  भएको भए पक्कै पनि भारत लाई यो सबै समस्या को दोष दिंदै "Back off इंडिया " भन्ने  थिए होला तर विचारा मेरा यहाँ भएका भारतीय मित्रहरुको के दोष? मेरा भारतीय मित्र त भुकम्प भन्दा अघि नेपाल घुम्न आउने तयारिमा थिए रे।  हाम्रो प्राकृतिक सम्पदाको बारेमा सुनेर नेपाल आउने तयारीमा थिए रे। उनीहरुसंग हुँदा नेपालीलाई नै भेटे जस्तो हुन्छ।  उस्तै चाड पर्व मनाउन पाउँदा घरको न्यास्रो लाग्न दिदैनन्।

नालायक त हाम्रो देशको सरकार हो।  जनताले भोगेको दु:ख मौन भएर दर्शक जस्तो भएर लाचार भएर बसेको छ।  सायद उनीहरुले न पानीको लागि, न तेलको लागि, न ग्यासको लागि, न गाडीको लागि उभिनु पर्छ। त्यहि भएर मुकदर्शक भएर बसेको छ हाम्रो निकम्मा सरकार।  अरुको सरकारलाई दोष दिनु भन्दा पनि हाम्रो सरकार ले आफ्नो मन्त्रि मण्डल विस्तार गर्नु बाहेक के गरेको छ, त्यो सोच्न जरुरी छ।

भुकम्प ले पिडित बनाएको देशमा अब बन्द- हड्ताल को पिडा छ।  तर यी सबैको वाबजूद, सुन्छु , नेपाली  नेपाली बिच भाइचारा र सद्भावपनि बढिरहेको छ रे।  मोटरसाइकल मा तेल हुने ले हिड्ने यात्रुलाई लिफ्ट दिन्छन रे।  सबैले यसरि नै मिलेर समस्या को समाधान गर्न सके कत्ति रमाइलो हुन्थ्यो होला।  हामी यसरि बाहिर बसेका नेपालीलाई घरको मायाले यत्ति बिघ्न पिरोल्दैन थियो होला।
देश मा खुसियाली छाएको फेरि सुन्न पाउ।  एउटा खुसि हुदा अर्को पक्ष को गालि गरोज facebook मार्फत देख्न नपरोस। जय नेपाल।


नेपाल रहे पो नेपाली नभए त के को नेपाली र कहाँ को नेपाल। 

Comments

Popular Posts