मेरो पहिलो रात
राति पट्टक्कै निद्रा परेन। ओल्टो- कोल्टो फर्किदा फर्किदै आधा रात बितेको पत्तै पाइनछु मैले। अनि त्यस माथि चकमन्न रातमा ति कुकुरहरुको आवाज - ओहो!! कानै बिझाउने। "रात परेपछि सधैँ कराउने रैछन् कि क्या हो छिमेकका कुकुरहरु" मन मनै सोंचे।
एक कोल्टो फेरि पल्टिएँ, आखाँ चिम्लिए, अहँ निद्रै परेन। उठ्न अल्छी लागे पनि उठेर एक गिलास पानी खाएँ अनि फेरि सुरु गरें ओल्टे -कोल्टे फेर्ने काम। फेरि कुरा त्यहि !!
कतै नयाँ परिवेश भएर त होइन मलाई निद्रा नपरेको? घरको ओछ्यान सम्झिएँ र यहाँको पातलो डसना छामें। हो, पक्कै यहि कारण हुनुपर्छ भन्ने निष्कर्षमा पुगे। अँध्यारो कोठालाई एक चोटि सरसर्ति हेरें। कोठा निक्कै ठूलो लाग्यो , तर फेरि मेरो खासै धेरै सामान नभएर त्यस्तो भएको होला भनि सोचें।
त्यो कालो रात, अँध्यारो कोठा अनि कोठामा म एक्लै भएको डरको अनुभूति। एकै छिन निद्रादेवीले आँखामा प्रवेश मात्रै के गरेकी थिईन, केहि चल्मलाएको आवाज आयो। मेरो मुटु घोडाको टाप भन्दा बढि दौडन थाल्यो, होस उड्यो, आँखा खोल्ने साहस नै भएन , बरु डराएर बिस्तारै सिरकले अनुहार छोपें र भगवानको नाम लिन थालें।
सुत्नु भन्दा अघि ढोका राम्रो सँग बन्द गरेको त याद थियो तर मेरो नजिक कोहि बिस्तारै आइरहेको आभाष भयो। दुई हात जोडेर भगवान् लाई "मलाई बचाऊ " भनेर प्राथना मात्रै गर्न सकेँ। कुकुरहरु झन् जोडले भुक्न थाले जस्तो भयो। शरिरले हंस छोड्ला जस्तो भयो।
आत्तिएँ , डराएँ र अन्तिम पटक घरलाई सम्झिएँ। त्यो घटनाक्रम सायद एक निमेषमा भएको हुनु पर्छ तर मलाई त्यो क्षण जिन्दगीको सबै भन्दा लामो र भयानक अनुभव भयो।
त्यस पछि सब चुप-चाप। मुटु पनि बिस्तारै ढुकढुक गर्न थाल्यो। आफूलाई सम्हालें र त्यो आफ्नै अँध्यारो कोठालाई चोरले नियाले झैँ सिरकबाट सुटुक्क चिहाएं। कतै कोहि केहि देखिएन , लामो श्वास फेरें। घरलाई एक चोटि सम्झिएँ फेरि। मन हलुका भयो। नजिकै मोबाइलमा earphone जोडें र फेरि सुत्न खोजें सिरकले मुख छोपेर। बिहान कति बेला हो आँखा खुल्यो।
मेरो पहिलो रात नयाँ ठाउँमा बितेछ। खुशि भएँ। डराएर भए पनि रात त बितेकै छ। उज्यालो सँग मलाई डर लाग्दैन तर बिहानी पछिको साँझ अनि त्यस पछिको रात सम्झिएर मेरो डर त्यसरी नै बढ्दै जान्छ।

Comments
Post a Comment